हिमालको फेदीमा कहिल्यै नअडिने हावा बगिरहन्छ। त्यहीँ कतै, टुकुचे र जोमसोमबीचको स्याङ गाउँमा एउटा समुदाय जन्मियो स्याङ्तान। समयको धुलोसँगै धेरै कुरा हराए पनि, उनीहरूको पहिचान अझै पनि त्यही हिमालको चिसो र घामसँग गाँसिएको छ।
कहिन्छ, उनीहरू पञ्चगाउँ संघका अभिन्न अंग थिए। व्यापारका लागि हिमाल काट्दै तिब्बततिर पुगे, अनि कहिले नेपालभित्रै आफ्ना बाख्रा,भेडा हाँक्दै नयाँ बसोबास खोजे। हरेक यात्राले उनीहरूको जीवनलाई अझ बलियो बनायो, अनि संस्कृतिलाई अझ गहिरो।
बौद्ध धर्ममा आस्था, ढुंगामाटोका घर, र ल्होसारको रमाइलो यी सबै उनीहरूको उत्पत्तिको कथामा मिसिएका धरोहर हुन्। रगतभन्दा बलियो भाइचारा बनाउन उनीहरूले “स्वगे भाइ” जस्तो परम्परा जन्माए, जसले उनीहरूको सामुदायिक आत्मालाई अझै मजबुत बनायो।
आज स्याङ्तानहरू हिमाल मात्र होइन, तराई, काठमाडौं र परदेशसम्म पुगेका छन्। तर जहाँ भए पनि, उनीहरूको मुटुमा अझै पनि स्याङ गाउँको गहिरो जरा बलियो छ। यही नै हो स्याङ्तानहरूको उत्पत्ति हिमालबाट सुरू भएर संसारभर फैलिएको, तर संस्कृतिमा कहिल्यै नटुट्ने कथा।


